झापा । झापाको क्षेत्र नं २ का लागि नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाको चुनावमा होमिन एक जना व्यवसायी छत्र गिरीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
शुक्रबार बिहान व्यवसायी छत्र गिरीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । नेपाली कांग्रेसभित्र क्षेत्र नं २ का लागि उपयुक्त उम्मेदवार खोजी भइरहँदा गिरीले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
नेपाली कांग्रेसकै तर्फबाट संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटी तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको नाम पनि उम्मेदवारको सूचीमा रहेको चर्चा चल्दै आएको छ । तर आफ्नो उम्मेदवारीलाई पार्टी स्वीकार गर्ने विश्वासमा आफूमा रहेको गिरीले बताउनुभयो ।
रामबाबु प्रसाईं नेपाली कांग्रेसको जिल्ला सभापति हुँदा २०४२ सालमा आफूले जिल्ला सदस्य भएर काम गरेको गिरीले बताउनुभयो । आफूलाई एकपटक राष्ट्रिय सभाको सदस्यमा उठ्ने अवसर प्राप्त भएकोमा त्यस पटक गंगा बाँस्तोलालाई छोडेको गिरीले स्मरण गर्दै पहिलो पटक आफू सार्वजनिक पदमा उठ्न लागेको बताउनुभयो ।
झापाको क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य चुनावका लागि नेपाली कांग्रेस उपयुक्त उम्मेदवारको खोजीमा छ । कोही उम्मेदवार बन्न नचाहेको खण्डमा पूर्वमन्त्री केशवकुमार बुढाथोकीलाई उम्मेदवार बनाउनका लागि कांग्रेसले तयारी थालेको बताइन्छ । यही बेला गिरीले उम्मेदवारी घोषणा गर्नुभएको हो ।





