पार्टीको संगठनात्मक अवस्था नहेरि चुनावी तालमेल भए पार्टीभित्र ठूलो असन्तुष्टि हुन सक्छ : गगन थापा


४ भाद्र २०७९, शनिबार १३:५२ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संगठनात्मक अवस्था नहेरि चुनावी तालमेल भए पार्टीभित्र ठूलो असन्तुष्टि हुन सक्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नंवर ८ ख द्वारा शनिबार काठमाडौंमा आयोजित प्रदेशसभा क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै थापाले अन्य दलको तुलनामा कांग्रेसको संगठनात्मक अवस्था र फरक मतदाता रहेको भन्दै यसलाई ख्याल नगरि चुनावी तालमेल भए पार्टीभित्र ठूलो असन्तुष्टि हुन सक्ने बताउनुभएको हो । थापाले मतदाताको मनोविज्ञान गठबन्धन दलले नबुझे सोचे जस्तो परिणाम ल्याउन पनि गाह्रो रहेको धारणा पनि राख्नुभयो ।

चुनावअघि तालमेल गर्न हुँदैन भन्ने कुरा ठीक भएपनि कांग्रेसले तालमेल नगरे अरुले तालमेल गर्नसक्ने देखिएको उहाँले बताउनुभयो । तालमेलबाट निर्वाचनमा जाँदा सिटको बाँडफाँटका साथै गठबन्धन दलबीच संविधान, आर्थिक सामाजिक, विदेश नीति लगाएतका बिषयमा साझा धारणा बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले अहिले पनि केहि बिषयमा गठबन्धन दलहरुबीच नै मतभेद रहेको भन्दै न्युनतम कुरा पनि मिल्न नसकेको अवस्थामा चुनाव जित्न मात्र तालमेल गर्न उचित नहुने धारणा राख्नुभयो ।

उहाँले मुलुकको परितर्वनपछि बनेको सरकारप्रति जनताको निराशा कायमै रहेकाले आम जनजीविका साथै जनताका आधारभूत कुरा पुरा गर्नका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here