अर्जुनधारामा तेस्रो खुदुनाबारी गोल्डकप प्रथम महिला फुटबल प्रतियोगित हुने


३ भाद्र २०७९, शुक्रबार १९:१० मा प्रकाशित

अर्जुनधारा । झापाको अर्जुनधारामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

अर्जुनधारा नगरपालिका ३ मा रहेको प्राकृतिक खेल मैदानमा संचालन हुने प्रतियोगितामा प्रदेश १ का ८ वटा टिम सहभागी हुने छन् । खेल मैदानमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी गराइएको हो । स्थानीय च्यारिटी युथ क्लब (सीवाईसी) ले आयोजना गर्ने प्रतियोगितामा जुनतारा महिला फुटबल क्लब सहआयोजक रहेको छ ।

प्रतियोगितामा उदयपुर, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङको टिम सहभागी गराउने तयारी भइरहेको प्रतियोगिताका खेल संयोजक याम खवासले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ र ट्रफी पाउने आयोजकले बताएको छ । प्रतियोगिताको उपविजेताले नगद ५५ हजार ५५५ र ट्रफी पाउने छ ।

प्रतियोगिता समपन्न गर्न १४ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकप को तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन हुने भएको हो ।

यसअघि सीवाईसीको आयोजनामा २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकप सम्पन्न भइसकेको छ । दसैँ पर्वलाई लक्षित गरेर संचालन हुने फुटबल प्रतियोगिता आगामी असोज ७ गतेबाट सुरु हुने प्रतियोगिता मुल आयोजक समितिकी संयोजक हिमा मगरले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल फूलपातीको दिन हुने छ । महिला खेलकुदका गतिविधि नभइरहेको अवस्थामा महिला खेलाडीलाई प्रोत्साहन दिँदै महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here