काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी क्षेत्रको सञचार माध्यामलाई नदिने निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सो निर्णय फिर्ता लिन दवाव दिँदै प्रधानमन्त्री साहलाई ज्ञापन पत्र बुझाएको हो । सरकारको सो निर्णयसंविधान, कानून र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएकाले त्यसलाई कार्यान्वयनमा नलैजान स्थानीय र प्रदेश सरकारलाई पनि सचेत गराइएको महासंघकी अध्यक्ष निर्मला शर्माले बताउनु भयो ।
महासंघले सरकारले सो निर्णय फिर्ता नलिए त्यसलाई अन्तराष्ट्रियकरण गर्ने चेतावनी समेत दिएको छ । महासंघले सरकारी सुचना वा विज्ञापन निजी क्षेत्रको सञ्चार माध्यामलाई नदिने गरी निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन गर्दै आएको छ । अध्यक्ष शर्माले सो विज्ञापनलाई पारदर्शी बनाउने काम प्रेस काउन्सिलमार्फत गराउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।






