काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेस र नेपाल–भारत सीमा क्षेत्रमा व्याप्त अशान्ति र सर्वसाधारणमाथि भइरहेको दुव्र्यवहारप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
सीमा नाकामा सर्वसाधारणले भोग्नुपरेको सास्ती र राज्यको उदासिनताले गर्दा आफूहरू ‘विद्रोहको नजिक’ पुगेको चेतावनीसमेत उहाँले दिनुभयो । अध्यक्ष ठाकुरले सीमा क्षेत्रका भन्सार र सुरक्षाकर्मीहरूले ‘तजबिजी अधिकार’ (स्वविवेकिय अधिकार) को दुरुपयोग गरी सर्वसाधारणलाई दुःख दिने गरेको बताउनु भयो ।
कानून स्पष्ट नहुँदा हाकिमहरूको तजबिजी चल्ने र त्यसले भ्रष्टाचार तथा सास्ती बढाएको उहाँको आरोप छ । विगतमा काम र खाद्यान्नका लागि मानिसहरू नेपाल आउने गरेको स्मरण गर्दै ठाकुरले अहिले स्थिति उल्टो भएको बताउनु भयो ।
सीमा सुरक्षाका नाममा महिलाहरू सबैभन्दा बढी प्रताडित भइरहेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्धमा राज्यले कठोर व्यवहार देखाएकोमा उहाँले आपत्ति जनाउनु भयो ।
विवाहका गाडीहरूलाई रोक लगाउने र जन्ती–बरीतलाई पैदल हिँडाउन बाध्य पार्ने कार्यले दुई देशको सांस्कृतिक वातावरण बिगारिरहेको उहाँको तर्क छ । वर्तमान सरकारलाई ‘हेलिकप्टर सरकार’ को संज्ञा दिँदै उहाँले राजधानीमा बस्ने मन्त्रीहरूलाई मधेसको भुइँमान्छेको पीडा थाहै नभएको बताउनु भयो ।
अध्यक्ष ठाकुरले मधेसका बुद्धिजीवी र मिडियाले अहिले बिस्तारै आँखा खोल्न थालेको भएपनि सत्ताले मधेसको आवाजलाई अझै बेवास्ता गरिरहेको गुनासो गर्नुभयो ।






