बिर्तामोड । अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।
संघले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी भदौ ४ र ५ गतेका लागि सम्मेलन आयोजना गरिएको जनाउँदै सबै तयारी पूरा भएको जानकारी दिएको हो ।
बिर्तामोडमा आयोजना गरिएको सम्मेलनको शनिवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ । गृह जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुन आउनुभएका अध्यक्ष ओली झापामै हुनुहुन्छ । तीन वर्षे कार्यकाल रहेको अनेम संघको अधिवेशन आठ वर्षपछि हुन लागेको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष जसमाया गजमेरले बताउनुभयो । सम्मेलनमा दुई हजार महिलाको सहभागिता रहनेछ ।
सम्मेलनले १५१ सदस्यीय जिल्ला कमिटी गठन गर्ने र त्यसका लागि सर्वसम्मत प्रक्रिया अवलम्वन गरिने जनाइएको छ । अनेम संघकी केन्द्रीय सचिव मेनुका काफ्लेका अनुसार झापा जिल्ला कमिटीले यो पटक पार्टी काम र महिला मुक्ति आन्दोलनमा लाग्दा जेल बसेका, हिरासतमा परेका र मरणासन्न हुने गरी यातना पाएका महिलालाई सम्मान गर्ने छ ।
अधिवेशनमा अनेम संघको नेतृत्व गरिसकेका जिल्ला अध्यक्षहरुलाई पनि सम्मानको कार्यक्रम राखिएको छ । अनेम संघकी केन्द्रीय सदस्य पवित्रा निरौलाले आगामी मंसिर ४ गतेको निर्वाचनलाई ध्यानमा राखेर एमालेको पक्षमा जनमत सिर्जना हुने गरी संगठन परिचालन गर्ने नीतिका साथ झापा जिल्ला अधिवेशन आयोजना गरिएको बताउनुभयो । सम्मेलनमा ४०१ महिला प्रतिनिधि रहेका छन् । क्षेत्रगत रुपमा आएका प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् ।





