काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मिति तोकिएपछि निर्वाचनको माहोल बढ्दै जाँदा निर्वाचन प्रयोजनका लागि विचार तथा सिद्धान्त मिल्ने दललाई एमालेमा गोलबन्द हुन आह्वान गरेको छ ।
मंगलबार नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष दिपककुमार कार्कीले विज्ञप्ति जारी गर्दै चुनाव नजिकिएसंगै बर्तमान गठबन्धन सरकारको क्रियाकलापबाट वाक्कदिक्क भएका तथा बामपन्थी शक्तिहरूले अघि सारेको समाजवादी आन्दोलनका पक्षधरहरूलाई एक ठाउँमा उभिन आह्वान गर्नुभएको हो ।
कार्कीले जारी गर्नुभएको विज्ञप्तिमा गठबन्धन सरकारले राष्ट्रियतामा गम्भीर संकट उत्पन्न गर्ने गरी नागरिकता विधेयक जारी गरेको, देश आर्थिक संकट तर्फ धकेलिदै गएको, एमाले सरकारमा रहदा जागृत गरेको नेपाली जनताका विकासका सपनाहरु मुर्झाएका कारण बिकासप्रेमी राजनीतिक दललाई एक ठाउँमा उभिन आग्रह गरिएको छ ।
देश गम्भीर संकटमा गुज्रिरहेको अवस्थामा राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा वैदेशिक हस्तक्षेप पनि बढेको कार्कीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
भारतीय सिमा अतिक्रमण बढेको, कालापानी, लिम्पियाधुरा, लिपुलेक सहितको चुच्चे नक्सा एमालेकै अगुवाईमा कायम गरिएको भए पनि गठबन्धन सरकारले भूभाग फिर्ता गर्ने कुनै पहल नगरेको एमाले झापाका अध्यक्ष कार्कीले बताउनुभएको छ ।
राष्ट्रलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराएर ‘सुखी नेपाली—समृद्ध नेपाल’ बनाउने परिकल्पना शोषणरहित समाजका साथ गरिएका बामपन्थी आन्दोलनको मुल बाधक नेपाली कांग्रेसनै भएको एमालेको ठहर छ ।
एमालेले विभिन्न कालखण्डमा पार्टीबाट अलग भएका एमाले कार्यकर्ताहरुलाई घर फर्कन आह्वान गरेको छ।





