काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले एसपीपीका सन्दर्भमा संसदले सरकारलाई दिएको निर्देशन पालना नगरेको भन्दै आपत्ती जनाउनुभएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उहाँले एसपीपी कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकी सरकारलाई नपठाएको जानकारी सदनलाई गराउन निर्देशन दिएको ५ दिन पुग्दा पनि सरकारले कुनै जानकारी नगराएको भन्दै आपत्ती जनाउनुभएको हो । एसपीपीबारे संसद र संसदीय समितिको निर्देशनलाई सरकारले सुनेपनि नसुनेझै गरेको उहाँको भनाइ छ । उहाँले सदनको निर्देशन नमान्ने सरकार देशमा छ कि अन्त कतै छ भन्दै प्रश्न गर्नुभयो ।
त्यस्तै उहाँले भारतले सेनाका लागि ल्याएको नयाँ योजना अग्निपथ योजनामा गोर्खा सैनिक भर्ती गर्न नहुने र सरकारले यस बिषयमा गम्भीरता देखाउनुपर्ने बताउनुभयो ।
त्यस्तै बिशेष समयमा कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रमको भुक्तानी नरोक्न र यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै उहाँले कारोना संक्रमतिको संख्या बढ्दै जाँदा यसको नियन्त्रणमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।





