प्रतिनिधि सभाबाट पास गरिएको नागरिकता विधेयक राष्ट्रघातीः अग्नि खरेल


८ श्रावण २०७९, आईतवार १४:०२ मा प्रकाशित

झापा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्निप्रसाद खरेलले बहुमतको बलमा प्रतिनिधि सभाबाट पास गरिएको नागरिकता विधेयक राष्ट्रघाती भएको बताउनु भएको छ।

उहाँकै शब्दमा प्रतिगामी सरकारले ल्याएको नागरिकता विधेयक कुनै हालतमा राष्ट्रहितमा नभएको नेता खरेलले बताउनु भयो ।

नागरिकता विधेयकमा उल्लेख भएको वैवाहिक अंगिकृत नागरिकताको सवाल राष्ट्रघाती भएको विगतमा कानुनमन्त्री तथा महान्यायाधिवक्तासमेत रहनुभएका खरेलले बताउनु भयो ।

अनेरास्ववियु झापा कमिटीले आइतबार बिर्तामोडको मुक्तिचोकमा आयोजना गरेको सडक बहस कार्यक्रममा एमाले नेता खरेलले गठबन्धन सरकारका हरेक कामले देशलाई कमजोर बनाइरहेको बताउनुभयो।

उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्केपछि एकाएक विधेयकमा भारतको गन्ध आएको बताउनु भयो।

एमाले नेता खरेलले भन्नुभयो, ‘एक जना नेता भारतबाट आएपछि विधेयकमा त्यही गन्ध आयो। जस्का कारण राष्ट्रियता नै खतरामा पर्ने संभावना बढेर गयो।’

तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयकमा गैरआवसीय नेपालीलाई नागरिकता दिने, विवाह गरेर आएका विदेशी चेलीलाई ७ वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने र जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिने विषय उल्लेख रहेको उहाँको भनाइ छ ।

वैवाहिक अंगिकृत नागरिकता दिने विषयमा गठबन्धन सरकारले राष्ट्रघात गरेको खरेलले बताउनु भयो।

अधिवक्ता हेमकला कट्टेलले वर्तमान सरकाले ल्याएको नागरिकता विधेयकमा वैवाहिक अंगिकृत नागरिकताको व्यवस्थाले केही सहज भएपनि धेरै अप्ठ्याराहरु भएको बताउनुभयो । उहाँले विवाह गरेर आउने वित्तिकै नागरिकता दिँदा धेरै जटिलताहरु आइपर्ने बताउनुभयो ।

कट्टेलले भन्नुभयो, ‘विवाह गरेर नागरिकता पाइसकेपछि पछि सम्बन्ध विच्छेद हुनसक्ला। उनले अंश पनि पाउने कानुनी प्रावधान छ। ती विषय के हुन्छन् भन्ने कुरा विधेयकले बोलेको छैन।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here