अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गर्ने काम झापाको बुद्धशान्तिबाट शुरु


३१ असार २०७९, शुक्रबार १६:४४ मा प्रकाशित

झापा । राष्ट्रिय भूमि आयोगले नेपालमा पहिलो झापाको बुद्धशान्ति गाउँपालिकाबाट अव्यवस्थित बसोबास रहेका घरपरिवारलाई जग्गाको धनी पुर्जा उपलब्ध गराउने काम शुरु गरेको छ ।

शुक्रबार बुद्धशान्ति गाउँपालिका कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशवप्रसाद निरौलाले बुद्धशान्ति गाउँपालिका वार्ड नं २ का २८ जना नागरिकलाई जग्गा धनीपुर्जा वितरण गर्नु भएको हो।

गाउँपालिकाका ४२ घरपरिवार अव्यवस्थित बसोबास रहेको तथ्यांक भए पनि सरकारलाई तिर्नुपर्ने सम्पूर्ण दायित्व तिरिसकेका वार्ड नं २ का २८ घर परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेलले जानकारी दिनुभयो।

दशौं बर्षदेखि ऐलानी जग्गा जोतभोग गर्दै आएका घरपरिवारलाई जग्गा धनीपुर्जा उपलब्ध गराइएको उहाँले बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशवप्रसाद निरौलाले देशभरका ७५३ स्थानीय तहमध्ये बुद्धशान्तिमा पहिलो पटक अव्यवस्थित बसोबास रहेका घरपरिवारलाई जग्गा धनीपुर्जा उपलब्ध गराइएको बताउनु भयो ।

उहाँले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने कामले निरन्तरता पाउने बताउनुभयो। जग्गा धनीपुर्जा पाएका घरपरिवारले १० बर्षसम्म जग्गा बेचबिखन नपाउने प्रावधान राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here