काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदको चालू अधिवेशन अन्त्य हुनेबितिकै आगामी निर्वाचनको मिति घोषणा हुनसक्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा बागमती प्रदेश कमिटीले आयोजना गरेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संसदको चालू अधिवेशनपछि अब कुनैपनि वेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुनसक्ने भन्दै तयारीमा जुट्न कार्यकर्तालाइ निर्देशन दिनुभयो । सङ्घ र प्रदेशसभाको निर्वाचनले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने भएकाले सोही अनुरुप लगनशील भएर आफ्नो पार्टीको प्रतिनिधित्व हुनेगरी लाग्न पनि उहाँले निर्देशन दिनुभयो ।
उहाँले धेरै कारणका बीच स्थानीय तहमा सवै स्थानमा जीत हासिल गर्न नसकेपछि आगामी निर्वाचनमा पार्टीले धेरै भन्दा धेरै सिट जित्ने दावी गर्नुभयो । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन महानगर र उपमहानगरबाहेकका स्थानमा प्रभावकारी रुपमा तालमेल हुन नसकेको बताउनुभयो । आफ्नो पार्टीलाई तालमेलका क्रममा अपमानजनक व्यवहार भएको भन्दै आगामी निर्वाचनमा सबै गल्तीहरुलाई सच्चाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन, विगतमा प्राप्त गरेको उपलब्धि र कमजोरीका सँगै आगामी कार्यदिशाका बारेमा पनि छलफल भएको बताइएको छ ।





