काठमाडौँ । भारत सरकारले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ ।
शुक्रबार सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई तीन हजार टेन्ट र १० रबरबोट सहयोग हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो ।
नेपाल र भारतबीच सरकार–सरकारमात्रै नभएर जनता–जनताबीच सम्बन्ध रहेको उल्लेख गर्दै गृहमन्त्री खाँणले उक्त सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपाल सदैव तयार रहेको बताउनुभयो । गृहमन्त्री खाँणले विपद्को बेला भारत सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्ध अझै प्रगाढ बनाउने कोसिस रहने प्रतिबद्धता जनाउनुभयो । राजदूत श्रीवास्तवले प्रकोप प्रभावितका लागि सहयोग जारी रहने विश्वास दिलाउनुभयो ।





