शेखर कोइराला समूहद्धारा बैठकमा पार्टीलाई बिधिबिधानबाट चलाउनका लागि ध्यानाकर्षण गराउने


२६ असार २०७९, आईतवार १८:४२ मा प्रकाशित

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीलाई बिधिबिधानबाट चलाउनका लागि ध्यानाकर्षण गराउने भएको छ ।

आइतबार काठमाडौंमा बसेको कोईराला समूहको भेलाले पार्टी नेतृत्वले बिधि बिधानलाई पालना नगरेको भन्दै यस बारे बैठकमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकपछि कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसले अरुलाई गाईड गर्ने भएकाले सवैभन्दा पहिले आफ्नो बिधानलाई पालना गर्नुपर्ने बताउनुभयो । उहाँले आफुहरुको पार्टीमा कुनै असन्तुष्टि नरहेको र सवैले कांग्रेस भन्ने बितिकै कुनै कांग्रेस भनेर प्रश्न सोध्ने अवस्था आउन दिन नहुने बताउनुभयो ।

त्यस्तै केन्द्रीय समिति बैठकमा सरकारको समिक्षा, बजेटले पारेको असर, भ्रष्टचारका बारेमा पनि छलफल हुने उहाँले बताउनुभयो । भण्डारीले स्थानीय तहको समिक्षा गर्दै पार्टीलाई फाइदा हुने गरि मात्रै गठबन्धनभित्र तालमेल हुनुपर्ने धारणा राख्नुभयो ।

सो समूहले भातृ संगठनका बिषयमा पार्टी सभापतिले सवैसंग छलफल गर्ने भनिएपनि अहिलेसम्म छलफल नै नगरेको उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here