काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी रुपमा कार्यान्वन गरिने बताउनुभएको छ ।
तराई विकास तथा सञ्चार केन्द्रले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै यसको प्रभावकारी कार्यान्वयन गरिने बताउनुभएको हो । उहाँले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने बताउनुभयो ।
उहाँले कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्दै लैजाने पनि बताउनुभयो । कोषबाट आश्रित परिवार सुविधा र अवकाश सुविधावापत आर्थिक सहयोग प्राप्त हुने भएकाले यसको महत्व धेरै रहेको उहाको भनाई छ ।
कोषले आगामी भदौ १ गतेदेखि योगदानकर्तालाई विभिन्न शीर्षकमा कर्जा प्रवाह गरिने समेत तयारी गरेको छ । कोषमा हालसम्म रु १९ अर्ब ६२ करोड योगदान रकम जम्मा भएको बताइएको छ ।





