काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराइले नागरिकता विधेयक फिर्ताको निर्णय सच्चाउन माग गर्नुभएको छ ।
राष्ट्रियसभाको बिहीबारको विशेष समयमा उहाँले उक्त विधेयक बनाउनका लागि दुई वर्षसम्म करोडौँको लगानी गरेर नागरिकता विधेयक फिर्ता गर्नु आपत्तिजनक भएको भन्दै निर्णय सच्चाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मधेशमा जन्मसिद्ध नागरिकता पाउनका लागि ठूलो समस्या भएको र धेरै युवा नागरिकताबाट वञ्चित भएको भन्दै उहाँले अहिलको बिधेयकलाई नै छिटो पारित गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै उहाँले खेतीपातीको समयमा समेत मल उपलव्ध गराउन नसकेको भन्दै आपत्ती जनाउनुभयो । उहाँले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेरमा अनाधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई लिएर अर्थमन्त्री जनार्दश शर्माले राजीनामा दिनु सकरात्मक भएको समेत बताउनुभयो ।
बैठकको बिशेष समयमा सांसद उर्मिला अर्यालले अर्थमन्त्रीमाथि उठेका प्रश्नका बारेमा छानबिन समितिले सत्य अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने विश्वास व्यक्त गर्नुभयो । सांसद सुमित्रा बिसीले अर्थमन्त्रीले तीन महिनासम्म राख्नपर्ने सिसीटिभी फुटेजलाई १३ दिनमै हटाएकोप्रति आपत्ति जनाउनुभयो ।





