झापा । झापाको सीमावर्ती बजार काँकरभिट्टामा सुपारी तस्करीको विषयमा दुई सुरक्षा निकायबाट खटिएका प्रहरी कर्मचारीबीच विवाद भएका खबर बिहीबार बिहान एक्कासी सञ्चारमाध्यममा आए।
सुपारी तस्करी गरेर भारतीय बजार पानीट्यांकी लैजाने क्रममा सुपारीको पोका खोसाखोस हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा धकेलाधकेल भएको खबर सार्वजनिक भयो।
तर प्रशासनका अनुसार त्यहाँ सामान्य विवाद चाहिँ भएको हो। विवाद नभएर बुधबार दिउँसै काँकरभिट्टामा नभएर नकलबन्दा भन्दा दक्षिणपट्टि मेची खोला किनारमा भएको प्रहरीको भनाइ छ।
बुधबार दिउँसो दुईजना भारतीय नागरिकले दुई पोका बोकेर मेची खोला तर्ने क्रममा नेपाल प्रहरीका जवानले दुई पोका सुपारी समातेका थिए।
पछि ‘पोका मैले समातेको’ भनेर ‘क्रेडिट’ लिनका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका सदस्यबीच त्यहाँ सामान्य विवाद भने भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठक र सशस्त्र प्रहरीको २ नं गण हेडक्वाटर झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले संयुक्त विज्ञप्ति जारी गर्दै दुई सुरक्षा निकायका सदस्यबीच कुनै झडप वा विवाद नभएको जनाएका छन्।
नेपाल प्रहरीको प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकेसीले पनि पोका खोसाखोस चाहिँ भएको पुष्टि गर्नु भएको छ।





