काठमाण्डौ ( साझा यातायातले आजदेखि बिजुलीबाट चल्ने तीन वटा बस सञ्चालन गर्दैछ । काठमाण्डौ उपत्यकामा चल्ने यी बसको बिहान ११ बजे एक कार्यक्रमकाबीच शुभारम्भ हुँदैछ । तीन वटा बसमध्ये दुई वटा रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।

साझाका यी तीन वटै बसका चालक र परिचालकमा महिला छन् । चालक र परिचालकमा महिलालाई प्राथमिकता दिइएको पाण्डेले बताउनुभयो । बस अपाङ्गतामैत्री छ । अपाङ्गता भएकाहरुले ह्वीलचियरसहित सजिलै यो बस चढ्न सक्नेछन् ।
सिटी बसको डिजाइनमा बनेको यो बस सेमी फ्लोर बस हो । यसमा ज्येष्ठ नागरिक, अशक्त र बालबालिका सजिलै चढ्न र ओर्लन सक्छन् । बसमा एक चालक र एक अपाङ्गता भएकाका लागि छुट्याइएको सिटसहित जम्मा २६ सिट रहेको छ । यस्तै, उभिएर यात्रा गर्न सजिलो होस् भन्नका लागि ह्याण्डल बार राखिएको छ । साझाले विद्युतीय बस खरिद गर्न गएको चैत १३ गते ग्लोबल टेन्डर आह्वान गरेको थियो ।इन्धनको भाउ महँगिएर डिजल, पेट्रोलबाट चल्ने गाडी चलाउनै समस्या भइरहेका बेला अहिले विद्युतीय गाडीलाई विकल्पको रुपमा हेरिएको छ ।





