काठमाडौं । थाइल्याण्डमा बसी मानवबेचविखन तथा ओसारपसार गर्ने तथा करोडौं ठगी गर्ने परशुराम गुरुङलाई प्रहरीले सार्वजनिक गरेको छ ।
गुरुङलाई शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । विकसित मुलुकमा रोजगारीको प्रलोभन दिएर करोडौं ठगी गरेको आरोपमा उनी थाइल्यान्डको बैंककमा पक्राउ परेका थिए ।प्रहरीको अन्तराष्ट्रिय संगठन ‘इन्टरपोल’को सहयोगमा उनलाई शुक्रबार बेलुका थाइल्यान्डबाट काठमाडौं ल्याइएको हो ।
गुरुङ गएको चैतमा बैंककमा पक्राउ परेका थिए ।प्रहरीले २०७१ सालदेखि नै उनको खोजी गरिरहेको थियो ।नेपाल प्रहरीको पहलमा इन्टरपोलले २०७२ साल असार २९ गते गुरुङविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।लामो समयपछि बैंककस्थित नेपाली दूतावास र नेपाल प्रहरीको सहयोगमा थाइल्यान्डबाट गुरुङलाई पक्रेको ब्यूरोका निर्देशक डिआइजी निरज बहादुर शाहीले जानकारी दिनुभयो ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गुरुङविरुद्ध ५२ जनाले मानव ओसार–पसारसम्बन्धी उजुरी गरेका थिए ।व्युरोमा पुगेका पिडितहरुले आफुहरुलाई बैदेशिक रोजगारीका नाममा अन्य देशमा पुराई अलपत्र पार्ने गरेको गुनासो गरेका थिए ।
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तथा मानव ओसार–पसारमा संलग्न गुरुङ अहिलेसम्मकै ‘खतरनाक गिरोहका नाइके’ भएको प्रहरीले जनाएको छ ।





