बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय


५ असार २०७९, आईतवार १६:२७ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समितिको बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा अन्तिम समयमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराएको भन्दै यसको कारणका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । एसपीपीका बिषयमा निकै नकारात्मक कुराहरु आएको बिषयमा जनतालाई जानकारी गराउनु सरकारको दायित्व भएको समिति सभापति पवित्रा निरौला खरेलले समितिमा आउन प्रधानमन्त्रीलाई पत्रचार नै गरेको जानकारी दिनुभयो ।

बैठकमा सभापति निरौलाले निर्णयको मस्यौदा पढेर सुनाउदा कांग्रेसका सांसदहरुले आपत्ती जनाएका थिए । बैठकमा कांग्रेस सांसद पुष्पा भूसालले स्पष्ट ढंगले सन्देश पठाएको भन्दै ध्यनाकर्षण गराउन जरुरी नरहेको तर्क गर्नुभयो । तर एमाले सांसद भीम रावलले बैठकमा आउछु भनेर सहमति जनाएर नआउने बिषय खेद प्रकट गर्ने बिषय भएको तर्क गर्नुभयो । एउटा सम्झौताबाट राष्ट्रियता नै कमजोर हुने बिषयमा प्रधानमन्त्री नआउनु सामान्य बिषय नभएको उहाँको भनाई छ । त्यसपछि पुन भूसालले यसअघि पनि अरु प्रधानमन्त्री र मन्त्रीहरु समितिमा नआएको भन्दै अहिले नै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता किन पर्यो भन्दै प्रश्न गर्नुभयो ।

त्यसपछि पुन समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री नआउने बिषयमा आफुले सोधेपछिमात्रै आउन नसक्ने जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको बदनाम गर्न नखोजेको भन्दै जानकारी दिन मात्र बोलाइएको तर्क गर्दै पुन निर्णय सुनाउनुभयो ।

तर कांग्रेसका सांसदहरुले संसदीय मर्यादाबिपरितको शव्दहरु हटाउनुपर्ने दोहराए । यसअघि बसेको समिति बैठकले एसपीपीका बिषयमा भएका सम्पूर्ण पत्रकार ७ दिन भित्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here