Tuesday, 03 November 2026
Suryodaya Online
१७ कात्तिक २०८३, मंगलबार
विज्ञापन

कुकुर तिहारमा रील प्रतियोगिता, उत्कृष्टलाई एक लाख पुरस्कार

Suryodaya Online१७ कात्तिक २०८३Suryodaya Online TV0 प्रतिक्रिया

काठमाडौं । कुकुर तिहारको मौलिकता, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली संस्कृतिको विशेषतालाई रीलमार्फत विश्वमाझ पुर्‍याउने अवसर आएको छ । नेपाल पर्यटन बोर्डले पहिलो पटक आयोजना गर्न लागेको ‘कुकुर तिहार रील प्रतियोगिता–२०८२’ मा सहभागी भएर उत्कृष्ट रील बनाउनेले एक लाख रुपैयाँ पुरस्कार जित्न सक्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अवधारणाअनुसार आयोजना गर्न लागिएको प्रतियोगिताको उद्देश्य कुकुर तिहारको सांस्कृतिक महत्व र मानिस तथा कुकुरबीचको घनिष्ठ सम्बन्धलाई डिजिटल सामग्रीमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु रहेको छ ।

नेपालको मौलिक कला, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने अभियानअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागिएको बोर्डले जनाएको छ । कुकुरलाई विशेष पूजा गरी सम्मान गर्ने कुकुर तिहार नेपालको मौलिक तथा विशिष्ट सांस्कृतिक परम्परा भएकाले यसको महत्वलाई रचनात्मक ढंगले प्रस्तुत गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

‘यस कुकुर तिहारमा हाम्रा अबोध साथीहरूको निःस्वार्थ प्रेम, वफादारी र साथको उत्सव मनाऔँ’ भन्ने सन्देशसहित बोर्डले प्रतियोगिताका लागि आह्वान गरेको छ । सहभागीले कुकुर तिहार तथा कुकुरसँगका रमाइला, भावुक वा आत्मीय पललाई कथावाचनसहित रीलमा प्रस्तुत गर्नुपर्नेछ ।

प्रतियोगितामा सहभागी हुन तयार पारिएको रील मौलिक र रचनात्मक हुनुपर्नेछ । रील फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्नुपर्नेछ । पोस्ट गर्दा अंग्रेजीमा #NepalTourism र #KukurTihar ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।

इन्स्टाग्राममा पोस्ट गर्नेले @nepaltourism लाई ट्याग गर्नुपर्नेछ भने फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ ।

प्रतियोगिताका लागि तयार पारिने रील अंग्रेजी भाषामा हुनुपर्नेछ । भिडियोमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिसकेपछि भिडियोको गुगल ड्राइभ लिंक [email protected] मा इमेलमार्फत पठाउनुपर्नेछ । गुगल ड्राइभको लिंकबाट भिडियो डाउनलोड र हेर्न मिल्ने अनुमति खुला राख्नुपर्नेछ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले सन् २०२६ नोभेम्बर २१ सम्ममा रील पठाइसक्नुपर्नेछ ।

कुकुर तिहारको मौलिकता, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली संस्कृतिको विशेषता रचनात्मक ढंगले प्रस्तुत गर्ने उत्कृष्ट रीलले एक लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private