काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल, नेपालले सोमबार साँझ विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
नियन्त्रणमा पर्नेमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह र बंगलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन्। प्रहरीले रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्दा नौ जना बंगलादेशी नागरिकका १४ थान राहदानी बरामद गरेको छ। साथै, ठूलो संख्यामा आर्थिक कारोबार तथा लेनदेनको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत फेला परेको छ।
यसैबीच, नियन्त्रणमा परेका जाहिंगिर आलममाथि एक जना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको खुलेको छ। उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको छ।बरामद भएका राहदानी र आर्थिक कारोबारसम्बन्धी डायरीलाई समेत अनुसन्धानको दायरामा राखिएको छ। उनीहरूको नेपाल बसाइको वैधानिकता तथा अन्य गतिविधिबारे सम्बन्धित निकायले थप अनुसन्धान गर्ने जनाएको छ।