काठमाडौँ । सरकारले आज र भोलि देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउँदैछ।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार यस अभियानमा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ।
कार्यक्रमका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन्। थापाले अभिभावकलाई आफ्ना बालबालिकालाई पायक पर्ने स्थानमा लगेर निःशुल्क औषधि खुवाउन आग्रह गरेका छन्।
सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता र कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले हरेक वर्ष कात्तिक र वैशाखमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपालमा २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गरिएको हो।