विराटनगर । श्रम संस्कृति पार्टीले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा ‘श्रम ब्रिगेड’ गठन गरेको छ। पार्टीको षडानन्द नगर कार्यसमितिले दक्ष जनशक्ति, सीप र आवश्यक उपकरणसहित तत्काल परिचालन गर्न सकिने टोलीका रूपमा श्रम ब्रिगेड गठन गरेको हो।
नगर कार्यसमितिले गठन गरेको ब्रिगेडको संयोजकमा रजत किराती चयन भएका छन्। सार्वजनिक तथा भौतिक पूर्वाधारमा समस्या देखिँदा लामो प्रशासनिक प्रक्रियामा अल्झिनुभन्दा आवश्यक जनशक्ति र उपकरणसहित तत्काल परिचालन भएर मर्मत तथा व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले ब्रिगेडको अवधारणा अघि सारिएको नगर कार्यसमितिले जनाएको छ।
ब्रिगेड सञ्चालनका लागि नगरभित्र दुईदेखि तीनवटा वडालाई समेटेर पाँचदेखि छवटा क्लस्टर निर्माण गर्ने योजना बनाइएको छ। प्रत्येक क्लस्टरमा रहेका श्रमदातालाई आवश्यकता र सीपअनुसार परिचालन गरिनेछ। क्लस्टरका संयोजक नगर श्रम ब्रिगेडका पदेन सदस्य रहने व्यवस्था प्रस्ताव गरिएको छ।
सार्वजनिक पूर्वाधारमा क्षति पुगेको, तत्काल मर्मत आवश्यक परेको वा विपद्का बेला जनशक्ति परिचालन गर्नुपर्ने अवस्था आएमा सम्बन्धित क्लस्टरबाट आवश्यक उपकरण र दक्ष श्रमिकसहित टोली परिचालन गरिने कार्यसमितिले जनाएको छ।
श्रम ब्रिगेडको मुख्य कार्यक्षेत्र श्रमदान, विपद् व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्ने रहेको छ। श्रम, सीप र स्थानीय जनशक्तिको उपयोगमार्फत विकास निर्माण तथा सार्वजनिक सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको कार्यसमितिको भनाइ छ।
श्रम संस्कृति पार्टीले स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेको अवस्थामा श्रम ब्रिगेडलाई नगरपालिकाको ‘फ्ल्यागसिप’ कार्यक्रमका रूपमा सञ्चालन गर्ने योजना समेत अघि सारेको छ।
श्रमलाई सम्मान गर्दै स्थानीयस्तरमा उपलब्ध सीप र जनशक्तिलाई संगठित रूपमा परिचालन गर्ने उद्देश्यले ब्रिगेड गठन गरिएको नगर कार्यसमितिले जनाएको छ।