कृषि, वन तथा पर्यावरण गीता चौधरीले स्वदेशी फूलको प्रवद्र्धन र नर्सरी व्यवसायको विकासमा सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ को उद्घाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन, प्रवद्र्धन र नर्सरी व्यवसायको विकासका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले स्वदेशी फूलको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिनुभयो ।
तिहार नेपाली समाजको उज्यालो, रङ र फूलसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस अवसरमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी आयोजना हुनु सान्दर्भिक रहेको उहाँको भनाई छ । स्थानीय उत्पादनलाई उपभोक्तासम्म पु¥याउने र नेपाली फूलको बजार विस्तार गर्ने माध्यमका रूपमा एक्स्पोले भुमिका खेल्ने उहाँले बताउनु भयो ।
मन्त्री चौधरीले नर्सरी व्यवसायलाई व्यापारमा मात्र सीमित नराखी उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तनको असर न्युनिकरणसँग जोड्नुपर्ने बताउनु भयो । यस क्षेत्रले युवा तथा महिलाका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।
नर्सरी व्यवसायीले भोग्दै आएको जग्गा अभावको समस्या समाधानका लागि सरकारले भूमि बैंकको अवधारणा अघि बढाउन लागेको उहाँले जानकारी पनि दिनुभयो । उहाँले रैथाने फूल तथा नेपालमै उत्पादित वस्तुको उत्पादन र बजारीकरणमा प्राथमिकता दिन व्यवसायीलाई आग्रह गर्नुभयो ।
मन्त्रालयले वन तथा भू–संरक्षण विभाग, बागवानी केन्द्र, बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र र राष्ट्रिय प्लान्ट क्वारेन्टाइन तथा बायो–सेक्युरिटी केन्द्रमार्फत नर्सरी क्षेत्रको व्यवस्थापन, गुणस्तर नियमन, प्राविधिक सहयोग र तालिमका कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनु भयो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलगायतका माध्यमबाट गुणस्तरीय नर्सरी स्थापना, अनुदान तथा फलफूलका बिरुवा वितरणका कार्यक्रमसमेत सञ्चालन भइरहेको उहाँको भनाइ छ । मन्त्री चौधरीले नर्सरी व्यवसायी संघले उठाएका नीतिगत सहजीकरण, व्यावसायिक हकहित र प्राविधिक सहयोगसम्बन्धी विषयमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले सरकारको स्वामित्वमा रहेका खाली जग्गाहरू नर्सरी व्यवसायीको लागी उपलब्ध गराउन माग गर्नुभयो ।
लामो समय सरकारी स्वामित्वमा खाली भएका जग्गाहरूलाई उत्पादनमा लगाउनुपर्ने उहाँको भनाई छ । उहाँले शहरी क्षेत्रमा खाली रहेका जग्गाहरू नर्सरी बजार स्थापना गर्ने वातावरण मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । साथै सातै प्रदेशमा प्रदेशस्तरीय मेला प्रदर्शनी तथा तालिम संचालन गर्नेगरि नीति बनाउन उहाँले सरकारसंग आग्रह गर्नुभयो ।
तिहारमा धेरै फूल आयात हुने हुनाले सयपत्री फूलमा आत्मनिर्भर बन्नलाई आयातलाई पुरै रोक्न पनि उहाँले सुझाव दिनुभयो । देशैभरि खाली रहेका जग्गाहरूमा भौगोलिक अवस्था हेरेर फूल फूल, जडीबुटी तथा व्यावसायिक खेती गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उत्पादनमा आत्मनिर्भर भएर निर्यात बढाउन सकेमा मात्रै देश समृद्ध हुने उहाँको भनाई छ ।