Tuesday, 03 November 2026
Suryodaya Online
१७ कात्तिक २०८३, मंगलबार
विज्ञापन

तक्षशिलाको आयोजनामा पहिलो अन्तरविद्यालय पौडी प्रतियोगिता सम्पन्न

Suryodaya Online१७ कात्तिक २०८३Dev Baskota0 प्रतिक्रिया

बिर्तामोड, १५ कात्तिक। झापाको बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलको आयोजनामा पहिलो अन्तरविद्यालय पौडी प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। विद्यालय परिसरमा रहेको स्वीमिङ पुलमा आइतबार आयोजित प्रतियोगितामा पाँच विद्यालयका विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा लिटिल फ्लावर्स इङ्लिस स्कुल, चिल्ड्रेन इन्भायरोन्मेन्ट स्कुल, बेल्स मोडेल स्कुल, कनकाई आवासीय अंग्रेजी माध्यमिक विद्यालय र आयोजक तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलको सहभागिता रहेको थियो।

प्रतियोगितामा कक्षा ५ देखि ७ र कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई दुई समूहमा विभाजन गरी फ्रीस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र बटरफ्लाई विधामा प्रतिस्पर्धा गराइएको थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक लोकबहादुर दियाली विशेष अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलका एकेडेमिक डाइरेक्टर डा. भिक्टर इग्नेसियस जोसेफ र तक्षशिला किन्डर वर्ल्डकी मोन्टेसरी डाइरेक्टर सीमा जोसेफको समेत उपस्थिति रहेको थियो।

प्रतियोगिताको समग्र उपलब्धिमा लिटिल फ्लावर्स इङ्लिस स्कुल र आयोजक तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलले पुरस्कार हासिल गरेका छन्। विजेता विद्यार्थीलाई अतिथिहरूले ट्रफी तथा पदक प्रदान गरेका थिए। प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र र उनीहरूलाई प्रशिक्षण तथा मार्गदर्शन गर्ने प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

विद्यालयले आफ्नो खेलकुद पूर्वाधार अन्य विद्यालयका विद्यार्थीका लागि समेत खुला गर्दै अन्तरविद्यालय सम्बन्ध विस्तार, खेलकुद संस्कृतिको विकास र विद्यार्थीको प्रतिभा प्रस्फुटनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ।

विद्यालयले आधुनिक शैक्षिक अभ्याससँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै आएको छ। इन्टरनेसनल ब्याकलरिएट (आईबी) प्राइमरी इयर्स प्रोग्रामको क्यान्डिडेट स्कुलका रूपमा रहेको विद्यालय क्याम्ब्रिज अंग्रेजी कार्यक्रमसँग पनि आबद्ध छ। विद्यालयमा एआई ल्याब, एरोबिक्स तथा स्टिम ल्याब र अन्तर्राष्ट्रिय मापदण्डको स्वीमिङ पुललगायतका पूर्वाधार रहेका छन्। प्रविधि, नवप्रवर्तन, खेलकुद र शारीरिक तन्दुरुस्तीलाई शिक्षासँग जोड्दै विद्यार्थीको क्षमता विकास गर्ने लक्ष्य विद्यालयले लिएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private