जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्द महाराज भोलि झापा आउने


६ बैशाख २०७९, मंगलवार ११:३५ मा प्रकाशित

विर्तामोड । जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराज पहिलो पटक झापा आउने हुनुभएको छ ।

शंकराचार्य स्वागत समारोह आयोजक मूल समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जगतगुरु शंकराचार्यको झापा आगमनको जानकारी गराएको हो ।

स्वामी निश्चलानन्द जनकपुरबाट विराटनगर, धारान, उर्लाबारीलगायतका स्थानमा भएका धर्मसभामा आशिर्वचन दिँदै भोलि झापा आउनु हुने कार्यक्रम रहेको समितिले बताएको छ ।

उर्लाबारीको मावा खोलादेखि उहाँलाई मोटरसाइकल र्यालीसहित भव्य स्वागत गर्दै साँझ ५.३० बजे विवेकानन्द गुरुकुल चारपानेमा ल्याइपुर्याउने कार्यक्रम तय भएको छ ।

त्यसपछि त्यस दिनको रात्रीबास अतिथि सदन बिर्तामोडमा राख्ने कार्यक्रम छ ।

बैशाख ८ गते बिहीबार ११.३० बजेदेखि धर्मसभा आयोजना गरिने तय भएको समिति संयोजक वेदप्रकाश अग्रवालले जानकारी दिनुभयो ।

धर्मसभामा स्वामी निश्चलानन्दसंग धर्मप्रेमीहरुले अन्तरक्रिया पनि गर्न सकिने बताइएको छ ।

पत्रकार सम्मेलनमा धर्मगुरु किशोरकुमार गौतमले जगतगुरु शंकराचार्यको योग्यता र बिशेषताका बारेमा जानकारी दिनुभएको थियो ।

जगतगुरु शंकराचार्यको स्वागत सम्मानका लागि वेदप्रकाश अग्रवालको संयोजकत्वमा शंकराचार्य स्वागत समारोह आयोजक मूल समिति गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा शंकराचार्य स्वागत समारोह आयोजक मूल समितिका कोषाध्यक्षमा कुमार भट्टराई, सचिव देवी घिमिरे, सहसंयोजकहरु हनुमान मित्तल, राजकुमार गुप्ता, पार्वता खरेल बिमली, सदस्यहरु मदनगोपाल सुब्बा, घनश्याम चौधरी, चन्द्रप्रकाश गिरी, रामप्रसाद मैनाली, सल्लाहकार समिति संयोजक हर्कलाल गिरीलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here