सत्ता गठबन्धनको निर्णायक बैठक आज बस्दै


६ बैशाख २०७९, मंगलवार ०९:२४ मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बिहान ११ बजे बस्दैछ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज निर्णायक बैठक बोलाइएको हो ।

सोमबार दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहमति हुन सकेको थिएन ।

महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सोमबार दुई चरणमा बसेको थियो ।

बैठक सहमति नजिक पुगेको बताइए पनि निर्णय सार्वजनिक भइसकेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि सहमति हुन नसकेको हो ।

बैठकमा विभिन्न विकल्पहरूमाथि छलफल भएपनि कुनै ठोस सहमति हुन नसकेको नेताहरुले जनाएका छन् ।

बैठकमा वैशाख ३० गतेको स्थानीय तहको चुनावका लागि महानगर, उपमहानगर र नगरपालिकामा हुने तालमेलको मोडालिटी बने पनि त्यसलाई अन्तिम रुप दिन बाँकी रहेको सञ्चारमन्त्री कार्कीले बताउनुभयो ।

 आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्नेछ ।

तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ ।

गठबन्धनले उक्त मापदण्डका आधारमा स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्न तल्ला तहलाई निर्देशन गरेको छ भने केन्द्रबाट ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँड गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here