उम्मेद्वार हुन चाहने महिलाको पीडाः चुनाव लड्न पैसा छैन


२६ चैत्र २०७८, शनिबार ११:३७ मा प्रकाशित

झापा । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन् ।

तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ । पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरु प्रमुख पदका आकांक्षी बनेका छन् भने वडासदस्यहरु अब वडाध्यक्षका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

सम्बद्ध राजनीतिक दलले वडाध्यक्ष बन्नका लागि रु २० लाखदेखि रु २५ लाखसम्म खर्च लाग्छ भन्न थालेपछि उनीहरु अन्योलमा परेका हुन् ।

“टिकट पाए वडाध्यक्ष जित्छु र चलाउन पनि सक्छु भन्ने हिम्मत छ तर चुनावमा खर्च गर्ने  पैसा छैन”, विर्तामोड नगरपालिका ६ की सदस्य यामुना आचार्य भन्नुहुन्छ, “२५ लाख खर्च लाग्छ वडाध्यक्षको चुनाव लड्न भन्छन् । घर बेची चुनावी खर्च गरेर रुखको फेदमा त बस्न सकिँदैन ।” महिलालाई आर्थिक अधिकार नहुँदा चुनावमा उमेदवारी दिन समस्या भएको उहाँ बताउनुहुन्छ।

वडा नम्बर ५ की सदस्य पवित्रा कोइराला ढुङ्गाना पनि आफ्नो वडाध्यक्षमा दाबेदारी भए पनि पैसाका कारण समस्या भइरहेको बताउनुहुन्छ । विगतमा जनताको मन जितेकाले र पुनः मत जित्ने गरी आउन सक्ने भए पनि राजनीतिक दलले पैसालाई महत्व दिएका कारण निरास हुने परिस्थिति सिर्जना भएको उहाँ बताउनु हुन्छ ।  सदस्य कोइराला भन्नुहुन्छ, “पैसालाई महत्व नदिएर सक्षम र क्षमतावान महिलालाई टिकट मात्र दिने हो भने चुनाव जितिन्छ ।”

महिलाको नाममा सम्पति भए पनि खर्च गर्ने अधिकार नहुँदा समस्या भएको वडा नम्बर १ की सदस्य भावना आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “श्रीमानले आफू चुनाव लड्नु पर्यो भने भएको सम्पति बेचेर पनि खर्चको जो हो गर्नुहुन्छ तर हामीलाई त्यो अधिकार हुँदैन अनि कोसँग पैसा मागेर चुनाव लड्नु ?” चुनाव लड्न महिलालाई आर्थिक तगारो बनेको उहाँको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here