काठमाण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे बिभिन्न प्रस्ताव गर्नुभएको छ ।
अर्थमन्त्रालयमा भएको सरोकारवाला निकायको वैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिटेन्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताउनुभयो ।
नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र बैंकहरूसँग लगानीयोग्य पुँजी अभावको समस्या हट्ने मन्त्री श्रेष्ठको भनाइ छ ।
मन्त्री श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे राख्नुभएका प्रस्ताव यस्ता रहेका छन् ।
वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने ।
विदेशबाट पैसा पठाउदा लाग्ने सेवाशुल्क हटाउनुपर्ने ।
विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने ।
विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने ।
औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा नेपाल आउँदा ल्याउन पाउने सामान टिभी, गरगहना आदिमा सहुलियत दिने ।
औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुनस् श्रम स्वीकृति लिंदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने ।





