Tuesday, 03 November 2026
Suryodaya Online
१७ कात्तिक २०८३, मंगलबार
विज्ञापन

आत्महत्याका घटनामा विवरणभन्दा रोकथामका सन्देशलाई प्राथमिकता दिन आग्रह

Suryodaya Online१७ कात्तिक २०८३Suryodaya Online TV0 प्रतिक्रिया

काठमाडौं । आत्महत्यासम्बन्धी समाचारले घटनाको विवरण मात्र होइन, त्यसको रोकथाम र जोखिममा रहेका व्यक्तिलाई सहयोग पुग्ने सन्देश पनि दिनुपर्नेमा जोड दिइएको छ। सञ्चारमाध्यमबाट हुने असंवेदनशील प्रस्तुतिले नकारात्मक प्रभाव पार्न सक्ने भएकाले आत्महत्याका घटनाको रिपोर्टिङ गर्दा जिम्मेवार पत्रकारिता अपनाउन सञ्चारकर्मीलाई आग्रह गरिएको छ।

मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा यस्तो आग्रह गरिएको हो।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको हो।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले आत्महत्या रोकथाममा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए। मानसिक स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले जनचेतना अभिवृद्धि, जोखिमको समयमै पहिचान र मनोसामाजिक तथा स्वास्थ्य सेवामा पहुँच विस्तारसँगै सञ्चारमाध्यमले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे। घटनालाई सनसनीपूर्ण बनाउने, संवेदनशीलतालाई बेवास्ता गर्ने र असावधानीपूर्ण भाषा प्रयोग गर्ने प्रवृत्ति त्याग्नुपर्ने उनको भनाइ थियो।

मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. अनन्त अधिकारीले आत्महत्याको जोखिम पहिचान, चेतावनीका संकेत र रोकथामका उपायबारे जानकारी गराएका थिए। समाचारमा घटनाको विस्तृत विवरण र प्रयोग गरिएको विधिलाई प्राथमिकता दिनुभन्दा रोकथामका उपाय, उपलब्ध सहयोगका माध्यम र सकारात्मक सन्देश समेट्नुपर्ने उनले बताए।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी शाखा प्रमुख शीला श्रेष्ठले आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मीहरूका लागि मार्गदर्शन, २०८० का व्यवस्थाबारे जानकारी गराइन्।

केन्द्रकी निर्देशक डा. राधिका थपलियाले अभिमुखीकरणपछि सञ्चारकर्मीले आत्महत्यासम्बन्धी सूचना तथा समाचार सम्प्रेषणमा तथ्यपरक, संवेदनशील र जिम्मेवार अभ्यास गर्ने अपेक्षा व्यक्त गरिन्। सञ्चारमाध्यमको सकारात्मक भूमिकाले आत्महत्या रोकथामका प्रयासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private