मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नम्बर १,प्रदेश नम्बर २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।काठमाडौँमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
आइतबार देशका केही स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।यही असार १४ गते देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश नं १ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





