गण्डकीमा अस्थायी कार्यविभाजन : चार मन्त्रालयको टुंगो


१२ असार २०७८, शनिबार १६:२० मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशमा चार मन्त्रालयको टुंगो लगाइएको छ । नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेको दुई हप्तासम्म पनि मन्त्रालयको भागबण्डा टुंगो लगाउन नसकेको भन्दै आलोचना भइरहँदा मन्त्रिपरिषद्को अस्थायी कार्यविभाजन गरी चार मन्त्रालयको टुंगो लगाइएको हो ।

दलहरुबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन भने अझै केही दिन लाग्ने भएको छ ।

सत्तारुढ गठबन्धनको सहमतिअनुसार प्रदेश सरकारका प्रवक्ता तोकिएका नेपाली कांग्रेसका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मा दिइने भएको छ ।

यसअघि अर्थमन्त्रालय दिने सहमति गरेको जनता समाजवादी पार्टीका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, माओवादी केन्द्रकी मधुमाया अधिकारी (गुरुङ)लाई स्वास्थ्य तथा जनसंख्या तथा स्वतन्त्रबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

लामो समयदेखि मन्त्रालयको भागबण्डा टुंगो लाग्न नसकेको हुँदा आफूहरु केही लचिलो बनेर सहमति गरेको मन्त्री हरिशरण आचार्यले बताए ।

कार्यविभाजन टुंगिनसकेको भन्दै उनले अहिले गरिएको कार्यविभाजन अस्थायी भएको पनि उल्लेख गरे । चार मन्त्रीको कार्यविभाजन आइतबार तोकिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here