एनसेलद्वारा स्वास्थ्य मन्त्रालयलाई अक्सिजन कन्सन्ट्रेटर्स हस्तान्तरण


८ जेष्ठ २०७८, शनिबार १२:२२ मा प्रकाशित

काठमाण्डाै । एनसेल आजियाटा लिमिटेडले हस्तान्तरणकाे घाेषणा गरेकाे १५० थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्समध्ये पहिलो लट शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

कोभिड-१९ विरुद्ध स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा एनसेलले १५० थानभन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रवार अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लट अन्तर्गतका कन्सन्ट्रेटर्स स्वास्थ्य मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नु भएकाे हाे।

कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरुमा यी कन्सन्ट्रेटर्स हस्तान्तरण गरिने छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भन्नुभयाे, ‘महामारीको समयमा अमूल्य जीवन बचाउन सहयोग पुर्याउने हेतुले हामी अस्पतालहरुलाई १५० थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गर्दैछौँ । गएकाे वर्ष हामीले सरकारद्वारा स्थापित कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गर्यौं । चौबीसै घण्टा स्वास्थ्य परामर्श दिनुका साथै घरमै आइसोलेशन बसेका सबैलाई दिनहुँ स्वास्थ्य परामर्श प्रदान गर्दछ ।’

एनसेल कोभिड-१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोन गरेर कोरोना भाइरस रोगसम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइनमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिन्छ । साथै धुलिखेल अस्पतालमा स्थापना भएको हटलाइनको कल सेन्टरले देशभरि घरमै आइसोलेशनमा बसेका बिरामीलाई दैनिक निःशुल्क स्वास्थ्य परामर्श पनि प्रदान गर्दछ ।यस अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न एनसेल प्रयासरत छ ।

साथै आफ्ना कर्मचारी कल्याणका लागि संचालित अभियान अन्तर्गत, एनसेलले यस कठिन समयमा आफ्ना कर्मचारीहरुलाई विषेश होम केयर सहयोग पनि प्रदान गर्दै आएको छ । कम्पनीले डाक्टर तथा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई भर्चुअल सेसन मार्फत कोभिड-१९ को लक्षण, बच्ने उपाय तथा त्यसको उपचार, फोक्सोको कार्य सुधार गर्ने तथा शरीरमा तनावको स्तर कम गर्ने विविध विषयमा कार्यक्रमहरु पनि सञ्चालन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here