काठमाडौं । रूसले परीक्षणको तेस्रो चरणमा पर्याउने कोरोनाविरुद्धको स्पुतनिक खोप सफल भए मंसिरको दोस्रो साता नेपालमा पनि ल्याइने भएको छ ।
रसियन डाइरेक्ट फन्ड र नेपालको ट्रिनिटी फर्मास्युटिकलबीच खोपले सफलता प्राप्त गरेमा नेपाल ल्याउने सहमति भएको हो ।
परीक्षण क्रममा रहेको खोप सफल भए मङ्सिरको दोस्रो साता खोप नेपाल ल्याइने ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले जानकारी दिएका छन् ।
परीक्षण क्रममा रहेको खोप नेपाल ल्याउनका लागि निजी क्षेत्रलाई अधिकार नभएको उनले बताए । उनका अनुसार रूसमा तेस्रो चरणमा रहेको खोपले सफलता पाए अक्टुबर पहिलो साता अर्थात यही असोज तेश्रो साता प्रयोगमा अनुमति पाउनेछ ।
खोपले सफलता पाएमा नेपालमा वितरण गर्न पहल थालिएको छ।
एक महिनाअघि रसियन फन्डसँग खोप ल्याउने सहमति भएको थियो । परीक्षण क्रममा रहेको खोपलाई ’बुक’ गरेको अधिकारीले बताए। ’बुक गरेको खोपले सफलता प्राप्त गरे नेपालले पहिलो प्राथमिकतामा पाउनेछ,’ अधिकारीले भने, ’अहिले कम्पनी र रसियन फन्डसँग सम्झौता मात्र भएको छ।
नेपालस्थित रूसी राजदूतावासको सहकार्यमा सहमति गरिएको हो।’ खोप ल्याउने चरणमा पुगेपछि नेपाल सरकारसँग सहमति मागिने उनले जनाए ।





