झापामा शुक्रवार थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि


२३ जेष्ठ २०७७, शुक्रबार १९:२० मा प्रकाशित

भद्रपुर । झापामा शुक्रवार थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कचनकवल गाउँपालिका १०, गौरदाह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा एक एक जना संक्रमित थपिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।

योसँगै झापामा पुष्टिमा भएका सङ्क्रमितको सङ्ख्या १३६ पुगेको छ । कोसी अस्पताल विराटनगरमा गरिएको पिसीआर परीक्षणमा कचनकवलका १० र गौरदाहका एक जनामा र बिपी प्रतिष्ठान धरान गरिएको परीक्षणमा गौरीगञ्जका एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कचनकवलमा १० जना थपिएसँगै गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या ११३ पुगेको छ । लक्ष्मी मावि बनियानीको क्वारेन्टाइनमा बसेका मध्येबाट १० जना कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए ।

उनीहरू भारतको मुम्बई, दिल्ली, तामिलनाडुबाट आएका हुन् । लक्ष्मी माविमा १३२ जनाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि पठाएकोमध्ये १० जनामा कोरोना पुष्टि भएको हो । अरूको रिपोर्ट आउने क्रममा रहेको स्वास्थ्य शाखा प्रमुख यादवले बताए । उनीहरू सबै पुरुष वडा नम्बर ४, ५ र ६ का बासिन्दा हुन् ।

त्यस्तै गौरीगंज गाउँपालिका २ कोरोवारी घर भएका ३५ वर्षीय पुरुषमा कोरोना भेटिएको हो । ती पुरुष भारतको दिल्लीबाट जेठ १९ गते गौरीगञ्ज आएका थिए । उनलाई गौरीगञ्जको प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखिएको र त्यहीबाट स्वाब सङ्कलनका लागि पठाइएको थियो । त्यसै गरी गौरादह नगरपालिका ७ का २० वर्षीय युवकमा कोरोना सङ्क्रमण भेटिएको हो । उनी भारतको सिक्किमबाट घर आएको र उनलाई गौरादहको क्वारेनटाइनमा राखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here