काठमाडौं । स्थगित गरेको २४ घण्टा नबित्दै कोरोना बीमा सुचारु भएको छ।
बीमा समितिले बिहीबार कोरोना बीमा स्थगन गर्न निर्देशन दिएको थियो। तर आफ्नै निर्णय उल्टाउँदै समितिले शुक्रबार कोरोना बीमा यथावत राख्न सम्बद्ध कम्पनीहरुलाई निर्देशन दिएको हो। बिहीबार मात्रै कोरोना बीमा स्थगन गरेको समितिले शुक्रबार पनि विज्ञप्ति निकालेर साविककै बीमालेख लागू हुनेगरी सुचारु गर्न सबै निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको हो।
समितिले अब जारी हुने बीमालेख आगामी चैत मसान्तसम्मका लागि जोखिम बहन गर्नेगरी बिक्री गराउन निर्देशन दिएको छ। वैशाख ७ गतेदेखि कोरोना बीमा सुरु भएको थियो।
यसमा १ लाख र ५० हजार गरी दुई विकल्पमा बीमा गर्न सकिन्छ। एक हजार रुपैयाँ बुझाउनेले एक लाख रुपैयाँ र ५ सय रुपैयाँ बुझाउने व्यक्तिले ५० हजार रुपैयाँको कोरोना बीमा गर्न पाउँछन्।
यो रकम बुझाएर बीमा गरेको १५ दिनपछि चैत मसान्तसम्म पिसिआर परीक्षणमार्फत कोरोना पुष्टि भए बिमितले बीमा रकम पाउँछन्।





