झापा । कोरोना भाइरसका कारण जारी लकडाउनले नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र परेका नेपालीलाई सोमबार नेपाल फर्काउने भनिएपनि आवश्यक प्रक्रिया नपुग्दा समस्या भएको छ ।
अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन केन्द्र सरकारको पत्र नआउँदा समस्या भएको हो । गत शनिबार १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको उपस्थितिमा झापाको भद्रपुरमा सम्पन्न सर्वपक्षीय बैठकले नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको थियो । बैठकमा कानुन मन्त्री कार्कीले नेपाल र भारतबीचको सहमति अनुसार नेपालमा भएका भारतीयलाई पारि र भारतमा भएका नेपालीलाई वारि ल्याउने बताएका थिए । तर,आवश्यक प्रक्रिया नपुगे पछि दुवै देशका नागरिक आ आफ्नोे देश फर्किन पाएका छैन्न ।
दुवै देशको सरकारबाट लिखित निर्णय प्राप्त नभएका कारण नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपालीलाई आ–आफ्नो देश फर्काउन नसकिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले संघीय सरकारबाट लिखित रुपमा कुनै आदेश प्राप्त नभएका कारण भारतमा रहेका नेपालीलाई स्वदेश ल्याउन नसकेको बताएका छन् । उनले माथिबाट आदेश नआएसम्म भारतबाट अलपत्र नेपालीहरुलाई उद्दार गरेर ल्याउन सक्ने अवस्था नभएको बताए ।
संघीय सरकारको आधिकारिक आदेश नआइ ल्याउने बारे कुनै पहल गर्न नसकिने भन्दै प्रमुख जिल्ला अधिकारी राना मगरले दुई देशबीचको अन्तर्राष्ट्रिय कुरामा मौखिक निर्णयको अर्थ नहुने समेत जानकारी दिए । हल्ला चलेपछि भारतका अन्य स्थानबाट नेपालीहरु बोर्डरसम्म हिँडेर आउने क्रम पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुलाई माथिको आदेश आएपछि ल्याउने पहल गर्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाको भनाई छ ।
नेपाली सुरक्षा अधिकारीहरुका अनुसार भारतको पश्चिम बंगाल राज्य सरकारले पनि केन्द्र सरकारको लिखित पत्र नआइ पठाउन नमिल्ने जनाएका छन् । शनिबारको बैठकले अलपत्र सबैलाई सोमबार ल्याएर जिल्लाका विभिन्न क्वारेन्टाइन र होल्डिङ्ग प्वइन्टमा राख्ने निर्णय गरेको थियो । सीमा क्षेत्रमा करीब १ हजारको संख्यामा नेपालीहरु आएको बुझिएको छ । भारतबाट एक हजारदेखि १५ सयसम्म नेपालीहरु काँकरभिट्टा नाकाबाट भित्रिन सक्ने प्रशासनको प्रारम्भिक अनुमान छ ।





