उदयपुरमा कोरोना जाँच उपकरण अभाव, खोटाङमा हिँडडुलमा प्रतिबन्ध


१० बैशाख २०७७, बुधबार १२:४४ मा प्रकाशित

उदयपुर । कोरोना भाइरस तीव्ररूपमा फैलिएर समुदाय पनि संक्रमित भएपछि उदयपुरमा जाँच तीव्र पारिएको छ। २४ जना सङ्क्रमित पुगेको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के र आसपासका क्षेत्रमा थप व्यक्तिको कोरोना परीक्षणका लागि उपकरण पनि अभाव भएको छ।

भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलँदै गए पनि सबै स्थानीय नागरिकको स्वाब नमूना सङ्कलन गर्न आवश्यक उपकरणको अभाव हुँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार भुल्केमा ६ सय ५० जना बसोबास गर्छन्। तर अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरी ३१९ जनाको मात्र स्वाब नमुना संकललन गरिएको सुवेदीले बताए। तीन सय १९ जनाको स्वाब नमुना परीक्षण गर्दा २४ मा सङ्क्रमण देखिएका कारण अन्य स्थानीय बासिन्दाको पनि स्वाब संकलन गर्नुपर्ने स्वास्थ्य कार्यालयको भनाई छ।

कोरोना भाइरसको ‘हटस्पट’ बनेको उदयपुरसँग सिमाना जोडिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ । छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन सबै वडालाई पत्राचार गरिएको नगरप्रमुख इवन राईले बताएका छन्।

१० स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म गरिएको र्‍यापिड डायग्नोष्टिक टेष्टमा सबै ९२ जनाको रिर्पोट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए।

र्‍यापिड डायग्नोष्टिक टेष्टमा नेगेटिभ रिर्पोट देखिएका हलेसी तुवाचुङ नगरपालिकाका पाँच र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन जनाको पिसीआर टेष्ट गर्न नमूना संलन गरेर कोशी अस्पताल विराटनगर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here