झापा । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको परोपकारी संस्था एक्सपर्ट फाउन्डेसनले अस्ट्रेलियामा रहेका विद्यार्थीहरुलाई सहयोग गर्न दुई लाख डलरको ‘कोभिड–१९ एक्सपर्ट सहयोग कोष’को घोषणा गरेको छ ।
कोरोनाका कारण अस्ट्रेलियामा अध्यनरत अन्तर्राष्ट्र्रिय विद्यार्थीहरुलाई पर्न सक्ने तत्कालिन र दिर्घकालिन असरलाई न्युनिकरण गर्ने उदेश्यले यो सहयोग घोषणा गरिएको एक्सपर्ट एजुकेशनका निर्देशक सन्जिव शर्माले बताए । एक्सपर्ट एजुकेशनले आफ्नो व्यवसायिक र सामिजक दायित्व पुरा गर्दै आएको सन्दर्भमा यतिखेर अस्ट्रेलियामा अध्यनरत विद्यार्थीहरुको समस्यालाई केही हदसम्म मलम लगाउने प्रयासका लागि यो राहत कोषको स्थापना गरिएको निर्देशक शर्माले सुनाए ।
उनका अनुसार सम्भवत निजी क्षेत्रबाट सञ्चालित व्यवसायिक संगठनले कोरोनाको प्रभावपछि विद्यार्थीको हक हितका लागि गरिएको यो पहिलो राहत कोष हो । ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको माहामारीले जनस्वास्थ र अर्थतन्त्रमा नै गहिरो प्रभाव पर्न गइ मानव जगतनै अहिले असहज परिस्थीतीबाट गुज्रनुपरेको अवस्थामा हामीले हाम्रो दायित्वलाई पुरा गरेका हौं’, एक्सपर्टका अर्का निर्देशक बद्री अर्यालले बताए ।
विद्यार्थीको दिर्घकालिन समस्याको समाधानका लागि एक्सपर्टले सरकारी निकाय, विभिन्न शैक्षिक उद्योग, संघ संस्था र कलेज, विश्वविद्यालयसँंग नजिक रहेर समुचित व्यवस्थापनको लागि पैरवी गरिरहेको अर्यालले सुनाए ।
अर्यालले आइतबार राहत कोषको घोषणा गर्दै भनेका छन, ‘अहिले निकै समस्यामा परेका विद्यार्थीका लागि यस राहत कोषले केही हदसम्म सहयोग पुग्ने विश्वास हामीले लिएका छौं । यो दुई लाख डलर मध्ये एक लाख पचास हजार डलर एक्सपर्ट एजुकेशन मार्फत आएका विद्यार्थीहरुको लागि र बाँंकी पचास हजार डलर अन्य नेपाली विद्यार्थीहरुको सहयोगमा जुटिरहेका संघ संस्थालाई प्रदान गरिने अर्यालले जानकारी दिए ।
पछिल्लो छ महिनायता अस्ट्रेलियामा उच्च अध्यनका लागि आएका र रोजगारी नपाएका अनि गुमाएका विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखिने र अन्य समस्यामै परेकाहरुलाई पनि मुल्यांकनका आधारमा सहयोग गरिने योजना रहेको अर्यालले बताए ।





