बङ्गलादेश संस्थापक राष्ट्रपतिको हत्या अभियोग लागेका सैन्य अधिकारीलाई फाँसी


३० चैत्र २०७६, आईतवार १८:५१ मा प्रकाशित

बङ्गलादेश । बङ्गलादेशका स्वतन्त्रता नायक समेत रहेका संस्थापक राष्ट्रपतिको सन् १९७५ मा गरिएको हत्यामा दोषी सावित भएका पूर्व सैन्य अधिकारी अब्दुल मजिदलाई मृत्युदण्ड दिइएको छ ।

अब्दुल मजिदले राष्ट्रपति समक्ष जीवनरक्षाका लागि गरेको अपिल अस्वीकृत भएपछि मजिदलाई राजधानी ढाकामा शनिवार फाँसी दिइएको बताइएको छ । उनलाई मङ्गलवार गिरफ्तार गरिएको थियो । शेख मुजिबुर रहमानको हत्या गरेको अभियोग लागेका उनी २५ वर्षदेखि फरार थिए ।

वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता रहमान उनका परिवारका धेरैजसो सदस्यहरूसहित सन् १९७५ को सैन्य कूमा मारिएका थिए । बाङ्लादेश पाकिस्तानबाट स्वतन्त्र बनेको चार वर्षमै उनको हत्या भएको थियो ।

मजिद कू पछि पनि देशभित्रै बसेका थिए । उनी शेख हसिना प्रधानमन्त्रीमा निर्वाचित भएपछि सन् १९९६ मा भारततिर भागेको विश्वास गरिन्छ ।

शेख हसिनाको सरकारले उनका बाबुको हत्यारालाई संरक्षण गर्ने किसिमको कानून परिवर्तन गरेर सन् १९९८ मा मजिद सहित एक दर्जन सैन्य अधिकारीहरूलाई मृत्युदण्ड सुनाएको थियो ।

बाङ्लादेशको सर्वोच्च अदालतले उक्त निर्णयलाई सन् २००९ मा सही ठहर्‍याएपछि त्यस लगत्तै पाँचजना दोषी सावितहरूलाई फाँसी दिइएको थियो। गत महिना आफ्नो देश फर्केका मजिदलाई गिरफ्तार गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here