काँकरभिट्टा । मेचीनगरका विभिन्न संघ संस्थालगायत व्यक्तिहरुले मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापनको खातामा धमाधम राहत रकम र सामाग्री जम्मा गरीरहेका बखत नगरपालिकाका जनप्रतिनिधिले समेत आफुले पाउदैं आएको एक महिनाको सेवा सुविधा बापतको रकम सोहि खातामा जम्मा गर्ने भएका छन् ।
नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सहित मेचीनगर नगरकार्यपालिकामा रहेका कुल ८० जना जनप्रतिनिधिहरुले वैशाख महिनामा आफुहरुले प्राप्त गर्ने सबै सेवा सुविधा वापतको रकम खातामा जम्मा गर्ने निर्णय भएको नगर प्रमुख विमल आचार्यले बताए । जनप्रतिनिधिहरुले चैत महिनाको सबै सेवा सुविधा प्राप्त गरिसकेका कारण वैशाख महिनाको सेवा सुविधा वापतको रकम जम्मा हुने उनले बताए ।
यो निर्णय भए लगत्तै खातामा मेचीनगरका जनप्रतिनिधिहरुले एक महिनामा विभिन्न शिर्षकबाट प्राप्त गर्ने सुविधा बापतको १० लाख ५० हजार ३ सय ९० रुपैयाँ खातामा जम्मा हुने उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।
उनका अनुसार नगरका जनप्रतितिनिधिहरुले बैठक भत्ता, टेलिफोन खर्च, खाजा खर्च, पुस्तक पत्रपत्रिका र इन्टरनेट खर्च, अनुगमन खर्च, खानेपानी तथा बिजुली खर्च, सरसफाई र मर्मत तथा अतिथि सत्कार शीर्षकमा सुविधा बापतको रकम पाउने गरेका छन् ।





