वीरगञ्जका चिकित्सकद्वारा कोरोना भाइरस विशेष अस्पताल सञ्चालन गर्न माग


३० चैत्र २०७६, आईतवार १४:४३ मा प्रकाशित

वीरगञ्ज । वीरगञ्जका चिकित्सकले कोरोना भाइरस विशेष अस्पताल सञ्चालन गर्न माग गरेका छन् ।

आइतबार वीरगञ्जमा तीन भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ कोरोना संक्रमितको उपचार गर्दै आएका चिकित्सकले कोरोना विशेष अस्पताल सञ्चालन गर्न माग गरेका हुन् ।

आइतबार नारायणी अस्पतालका चिकित्सवको आकस्मिक बैठकले जनरल र कोभिड–१९ का बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा समस्या आउन सक्ने उनीहरुले बताएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले छिटो भन्दा छिटो कोरोना विशेष अस्पताल सञ्चालन गर्नुपर्ने बताए ।

कोरोना संक्रमित तीन जना भारतीय हाल नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । चिकित्सकहरुले कोरोना संक्रमित भेटिएको क्षेत्र वीरगञ्ज– २ छपकैया लाई शिल गरेर आवश्यक जाँच पड्ताल शुरु गर्न माग गरेका छन् ।

उनीहरुले मेडिसिन विभागबाहेक सबै विभागका चिकित्सक, स्वास्थ्यकर्मीले कोभिड–१९ को उपचारमा सहयोग गर्ने निर्णय गरेका छन् । प्रशासनले छिटो भन्दा छिटो कोरोना संक्रमित भेटिएको क्षेत्रलाई शिल गरेर आवश्यक जाँच गर्न अग्रसरता लिनुपर्ने, अस्पतालमा विरामी राखिएको आईसोलेसन वार्ड भएको क्षेत्रमा उच्च सुरक्षा र स्वास्थ्य सतर्कता अपनाउन आवश्यक प्रबन्ध मिलाउनुपर्ने माग राखेका छन् ।

बैठकमा अहिलेको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने बारेमा नै छलफल भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताए । चिकित्सक बैठकको निर्णयको बारेमा अन्य निकायलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा मदन उपाध्यायले पत्राचार गरिरहेका छन् ।

चिकित्सक संघ नारायणीका अध्यक्ष डा. अरुण सिंहले कोरोना संक्रमितको उपचारलगायतका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल भएको बताए ।

त्यसका लागि अस्पतालले टिम बनाइसकेको र उनीहरु छुट्टै क्वारेन्टाइनमा बसेर उपचारमा खट्ने उनले जानकारी दिए । नारायणी अस्पताल महामारी विरुद्ध लड्नका लागि तयार रहेको बताउँदै मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले सरोकारवालाले नैतिक, मनोवैज्ञानिक र भौतिक सहयोग गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here