बारा । बारामा जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई शुक्रबार नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।
श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यसबारे बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले श्रीमती नुनियाको शवलाई जलाउँदै गरेको खुलेपछि शवलाई नियन्त्रणमा लिएको उपरीक्षक खनालले बताए ।
शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेको हुँदा घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले बताएका छन् । मृतकको माइती भारतको मोतिहारी जिल्लाको जुयाफर भन्ने ठाउँमा रहेको हो । माइती पक्षले नै सो घटनाको बारेमा जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो ।





