उपनिर्वाचनः पछिल्लो मतपरिणाम अपडेट कसले कहाँ जिते ?


१५ मंसिर २०७६, आईतवार १७:२५ मा प्रकाशित

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत स्थानीय तहका ४३ वडा अध्यक्षहरुमध्ये अधिकांश स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

जसमा सत्तारुढ दल नेकपाले २३ स्थानमा जीत हात पारेर अग्रता कायम गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ११ वडा अध्यक्षमा जीत हात पारेको छ । त्यस्तै समाजवादीले ४ र राजपाले ३ वडा अध्यक्षमा जीत हात पारेका छन् । एक स्थानमा नेकपाका बागी उम्मेदवारले जीत हात पारेका छन् । त्यस्तै उपुचनाव भएका ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्षमध्ये दुई गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् भने एक गाउँपालिकाको उपाध्यक्षमा नेकपाले जितेको छ ।

अब पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षको मत परिणाम आउन बाँकी छ । संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल निर्वाचित भएका छन् भने महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी निर्वाचित भएका छन् । त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी रुपा शाही निर्वाचित भएकी छिन् । उपनिर्वाचन भएका ३ प्रदेशसभा मध्ये भक्तपुरको नतिजा सार्वजनिक भएको छ जहाँ कांग्रेसका कृष्ण भडेल निर्वाचित भएका छन् ।

कसकसले जिते ?

पाँचथरको फिदिम नपा–१ मा गजाधर राई, सङ्खुवासभा खाँदवारी नपा–३ भरतकुमार घिमिरे, भोजपुर पौवादुङ गापा–१ मा जितेन्द्र राई, खोटाङ साकेला गापा–३ मा शिवकला राई, सिरहा कल्याणपुर नपा–१२ मा दिलीपकुमार यादव, रामेछाप उमाकुण्ड गापा–५ मा कुलबहादुर बस्नेत, सिन्धुपाल्चोक इन्द्रावती गापा–८ मा केदारनाथ आचार्य, काभ्रे धुलिखेल नपा–२ मा देवप्रसाद कोइराला र काठमाडौँ दक्षिणकाली नपा–३ मा नेकपाका उम्मेदवार शिवभक्ति बलामी विजयी भएका छन् ।

लम्जुङ सुन्दरबजार नपा–२ मा नवीनकुमार श्रेष्ठ, बागलुङ बडिगाड गापा–२ मा ढालप्रसाद शेरचन, नवलपरासी बर्दघाट सुस्तापूर्व बौदीकाली गापा–५ मा खिमबहादुर थापा, रोल्पा थवाङ गापा–१ मा जनकबहादुर बुढामगर, कञ्चनपुर पुनर्वास नपा–३ मा कृष्णबहादुर तामाङ, सल्यान कुमाख गापा–५ मा धर्मे बुढाथोकी, बैतडी पुर्चौडी गापा–४ मा शैलेन्द्र धानुक, गुल्मी रुरु क्षेत्र गापा–६ मा शोभाखर खनाल, प्यूठान नपा–२ मा मुक्ति पोखरेल, डोटी आदर्श गापा–२ मा रामबहादुर बोहरा, अछाम मल्लेख गापा–५ रमेशबहादुर खड्का र बाजुरा त्रिवेणी नपा–१ को वडाध्यक्षमा पनि नेकपाकै उम्मेदवार मनराजे बुढा विजयी भएका छन् ।

पाँचथर हिलिहाङ गापा–७ मा तिलविक्रम इधिङ्गो, महोत्तरी बलवा नपा–२ मा विपिन पजियार सुडी, रौतहट गढीमाई नपा–२ मा दीपेन्द्र श्रेष्ठ, चितवन भरतपुर मनपा–१६ मा अमृतराज हमाल, खैरहनी नपा–४ मा देवबहादुर बस्नेत, सोही नपा–५ मा प्रतिमा कार्की, बैतडी दोगडाकेदार गापा–४ मा सुरेन्द्रप्रसाद भट्ट, अर्घाखाँची मालारानी गापा–३ मा शोभाखर खनाल, दाङ घोराही उपनपा–१६ मा ताराबहादुर डिसी र मोरङ धनपालथान गापा–२ मा नेपाली काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार नारायणप्रसाद साह निर्वाचित भएक हुन् ।

राजपाका वडाध्यक्षका उम्मेदवार महोत्तरी मटिहानी नपा–६ मा रामबाबु नायक, कपिलवस्तु शिवराज नपा–१० मा मञ्जु मिश्र र सप्तरी छिन्नमस्ता गापा–७ मा प्रमिलादेवी यादव विजयी भए । सर्लाही हरिपुर्वा नपा–१ मा श्यामबाबु राय, बारा बारागढी गापामा सुरेशप्रसाद चौधरी र पर्सा प्रसौनी गापा–५ मा समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार रुपलालकुमार यादव निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभा तर्फ भक्तपुर १ क मा नेपाली कांग्रेसल जीत हात पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here