अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा बुधबार साझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल प्राली बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि १८ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवल तर्फ आउदै गरेको लु २ ख २१४८ नम्बरको बस सडकबाट करिव ३ सय मिटर तल भिरबाट खसेर दुर्घटना भएको हो ।
मृतक १० जनाको सनाखत भएको छ । मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क ७ डिहिडाँडा कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मोनिका खड्का, शितगंगा २ सितापुर झिर्रा घर भई हाल कपिलवस्तुको चप्परगाँउ बस्ने गाढी धनी ३७ वर्षीय शन्त बहादुर बस्नेत, शितगंगा–२ सितापुर झिर्रा बस्ने उनको भाई बुहारी २७ वर्षीया सिता बस्नेत , कपिलवस्तु बुद्धभुमी बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा क्षेत्री, अर्घाखाँची सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाँउका ५४ वर्षीय बलाराम भट्टराई, भुमिकास्थान नगरपालीका ९ का २७ वर्षीय शैलेस थापा , सन्धिखर्क १० का छबिलाल गैरे र गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत शसस्त्र प्रहरी जवान राजकुमार महत रहेका छन् । अन्य ९ जना मृतकहरुको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा ५ /६ महिनाको बालकसहित १२ जना पुरुष ७ जना महिला रहेको अर्घाखाँची प्रहरी सुचना अधिकृत सुरेस सवेदी जानकारी दिए ।
घाइते १८ जना मध्ये २ जना उपचारपछि घर फर्किएका छन् भने ६ जनाको बुटवल चौराहा अस्पताल प्रालीमा, ९ जनाको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ । घाइते मध्य दाङ जिल्ला राप्ती गाँउपालीकाका ३३ वर्षीय प्रशान्त सवदीलाई बुटवल चौराहा अस्पतालबाट थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । दुर्घटनाको कारण एक्कासी जोडले ब्रेक थिच्दा बस अनियन्त्रीत भई सडकको डिल भासीएर भिरबाट तल खसेको प्रहरीको प्रारम्भीक अनुसन्धानले बताएको छ ।





