बोरुसिया डोर्टमण्डलाई ३–१ ले हराउँदै बार्सिलोना अन्तिम १६मा


१२ मंसिर २०७६, बिहीबार ०९:१६ मा प्रकाशित

स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । समूह एफ अन्तर्गतको खेलमा बोरुसिया डोर्टमण्डलाई ३–१ ले हराउँदै बार्सिलोनाले अन्तिम १६ को यात्रा पक्का बनायो ।

बार्सिलोनाका लागि ७००औँ खेल खेलेका मेस्सीले आफ्नो टिमको जितमा महत्वपूर्ण यागदान दिए । बार्सिलोनाको जितमा लुइस स्वारेज, लियोनल मेस्सी र एन्ट्वान ग्रिजम्यानले एक–एक गोल गरे । जितसँगै बार्सिलोनाले एघार अंक बनाएको छ । समूहमा इटालियन क्लब इन्टर मिलान र बोरुसिया डोर्टमण्ड सात–सात अंकका साथ दोस्रो स्थानमा छ ।

क्याम्प नोउमा भएको खेलमा लुइस स्वारेजले मेस्सीको पासमा गोल गर्दै २९ औँ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए । त्यसको चार मिनेटपछि स्वारेजको पासमा मेस्सीले लेफ्ट फुटेड सट गोलमा परिणत गरे । बार्सिलोनाका लागि क्लबको ६१३ औँ गोल थियो । योसँगै उनले च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ११४ पुर्‍याए । पहिलो हाफमा दुई गोलको अग्रता लिएको बार्सिलोेनाले दोस्रो हाफमा एक गोल थप्यो । मेसीले नै दिएको पासलाई ग्रिजम्यानले गोलमा परिणत गरे ।

समूह एफकै अर्को खेलमा इटालियन क्लब इन्टरमिलान विजयी भएको छ । इन्टरमिलानले चेक गणतन्त्रको स्लाभिया प्रागलाई ३–१ ले हरायो । प्रागमा भएको खेलमा इन्टरमिलानलाई जित दिलाउनका लागि लउटारो मार्टिनेजले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे । अब इन्टर मिनानले बार्सिलोनासँग प्रतिष्पर्धा गर्नेछ भने डोर्टमण्ड स्लाभिया प्रागसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here