झापा । झापाको बिर्तामोडबाट सदरमुकाम चन्द्रगढी जोड्ने भद्रपुर रोड निर्माण रोक्न झापा सिटी कन्ट्रक्सनका प्रोपाइटर शम्भु भण्डारीले दवाव दिएका छन् ।
आफुहरुको गिटी, बालुवा लगायतका सामग्रीको राजकिशोर गुप्ताले भुक्तानी नदिएको भन्दै बाटो बनाउन रोक्न भण्डारीले चेतावनी दिएको बताए । आफु लगायत अन्य २ जनाको गरी एक करोड भन्दा बढी रुपैँया ठेकेदार गुप्ताले भुक्तानी दिन बाँकी रहेको भन्दै उनले पैसा नदिएसम्म काम अगाडि बढाउन नदिने चेतावनी समेत दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल झापाको अध्यक्ष समेत रहेका भण्डारीले बाटो रोक्न दवाव दिएपनि नेकपा नेतृ एवम् झापा क्षेत्र नंम्बर २ का संघीय सांसद पवित्रा निरौला खरेलले बाटोको निर्माणकार्य एक सेकेण्ड पनि रोक्न नदिइने बताएकी छिन् । सांसद खरेलले कसैको हिसाबकिताब मिलाउनु भए सम्बन्धित व्याक्ति बसेर हिसाब मिलाउन सुझाव दिँदै बाटोको निर्माण एक सेकेण्ड पनि रोक्न नदिने बताएकी हुन् ।
राजकिशोर गुप्ताले पेटीकन्ट्याक्टमा काम लिएदेखि नै नेकपा नेता रघुवीर महासेठको मान्छे हुँ भन्ने र कांग्रेस नेता विमलेन्द्र निधिबाट स्थानीय अगुवालाई फोन गराउने तथा समयमा काम नगर्ने गर्दै आएको खुलेको छ । २०७६ पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्नु पर्ने गरी करसहित २७ करोड ९ लाख ७० हजार ९६ रुपैयाँमा सम्झौता भएको भए पनि यस समयमा निर्माण नहुने अवस्था देखिएपछि जनप्रतिनिधि र स्थानीयको दवावमा कामलाई तीब्रता दिन डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले आशिस प्रेरा जेभीलाई दवाव दिएका थिए । सडकबाट हालसम्म भ्याट बाहेक ६ करोड ४५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
पछिल्लो समयमा सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी केदार गिरीले भने काम गर्न चुनौती देखिएको बताए । बिर्तामोबाट बिर्ताबजारसम्म ४ लेन र त्यसपछि २ लेन निर्माण हुने पहिलेको ठेक्का थियो, पछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सबै ४ लेनको बनाउने भनेर ठेक्का थप भएको छ । निमार्ण पुरा गर्ने समय अवधी अब डेढ महिनामात्र बाँकी छ ।





