चितवन । भरतपुर महानगरपलिकाकी मेयर रेनु दाहालको चरित्र हत्या गरी सामाजिक सञ्जालमा अश्लिल सामग्री लेख्ने एक जनालाई चितवन प्रहरीले गएराती पक्राउ गरेको छ ।
मेयर दाहालको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा अश्लिल सामाग्री राखेको आरोपमा प्रहरीले ३० वर्षीय पशुपति श्रेष्ठलाई पक्राउ गरेको हो । अन्य आरोपीहरु को समेत खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ । दाहालको चरित्र हत्या हुनेगरी फेसबुकमा पोष्ट गरिएका अश्लिल श्रब्य दृष्य र स्टाटस हाल्नेहरु बिरुद्ध भरतपुर महानगरपालिकाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवन मार्फत गृहमन्त्रालय र प्रहरी मुख्यालयमा साईबर क्राईमको जाहेरी दर्ता गरेको थियो ।
शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाहीमाथिको आक्रमणपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर दाहालका तस्बिरजोडी अर्धनग्न तस्बिर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्टसमेत गरेका थिए । अत्यन्तै निकृष्ट रुपमा महानगर प्रमुखको अपमान र चरित्र हत्या हुने गरी भ्रामक पोष्टहरु समप्रेषण हुनु आपत्तिजनक र अमानवीय व्यवहार भएकाले महानगरले कानुनी उपचार खोजेको जाहेरीमा दाबी गरिएको छ । घटनाबारे आवश्यक अनुसन्धान र गलत हर्कत गर्नेहरुको खोजी सुरु भैसकेको चितवन प्रहरीले जनाएको छ ।





