काठमाडौं । वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले भाषा संरक्षण र प्रवद्र्धनका लागि सरकारले गरेको लगानीको प्रभावकारिता देखिन आवश्यक रहेको बताउनुभएको छ ।
भाषा दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेश सरकारले प्रदेशभित्र बोलिने भाषाको विकासका लागि करोडौं रुपैयाँ खर्च गरिरहेको बताउनुभएको हो । तर लगानीको उचित प्रतिफल भने नदेखिएको उहाँको भनाई छ । उहाँले प्रदेश सरकारले भाषा र संस्कृतिको संरक्षणका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको बताउनु भयो ।
भाषा प्रवद्र्धनका कार्यक्रम औपचारिकतामा मात्र सिमित हुन नहुने बताउँदै उहाँले वास्तविक उपलब्धि हासिल गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । राज्यले लगानी गरिरहने, तर नयाँ पुस्ताले आफ्नै भाषा नजान्ने हो भने त्यो लगानी बालुवामा पानी हाल्नुजस्तै हुने उहाँको भनाई छ ।
उहाँले घर–घर, टोल–टोल र विद्यालयस्तरमै भाषा शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनु भयो । आफ्नै सन्तानलाई मातृभाषा सिकाउन नसकेको अनुभव सुनाउँदै उहाँले व्यवहारिक अभ्यासमा पनि जोड दिनुपर्ने बताउनु भयो ।
उहाँले मन्त्रालयले गरेको लगानीको आधारमा कति व्यक्तिले भाषा र लिपि सिके भन्ने तथ्यांक संकलन र मूल्यांकन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले वागमती प्रदेशमा नेवा र तामाङ भाषालाई सरकारी भाषाका रूपमा स्थापित गरिएको उल्लेख गर्दै भाषा सम्बन्धी ऐनको नियमावली टुंग्याउने काममा भने केही ढिला भएको बताउनु भयो ।
उहाँले भाषा दिवसको अवसरमा वैशाख २४ गते नियमावली ल्याउने तयारीमा रहेपनि निरन्तर परेको विदाका कारण नसकिएको जानकारी दिनुभयो । यद्यपि छिट्टै नै नियमावली ल्याउने उहाँले प्रतिवद्धता जनाउनु भयो ।
मन्त्री श्रेष्ठले वागमती प्रदेशमा आफ्नै प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने विषयमा पनि काम भइरहेको जानकारी दिनुभयो । प्रदेश सरकारले भाषा प्रवद्र्धनका लागि संस्थाहरूसँग सहकार्य गर्न पूर्णरूपमा तयार रहेको उल्लेख गर्दै उहाँले आगामी आर्थिक वर्ष २०८३/८४ मा थप बजेट व्यवस्था गर्न समेत छलफल गरिने बताउनु भयो ।
वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेश सरकारले स्थानिय भाषाको प्रर्वद्धनमा मन्त्रालयले काम गर्दे आएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा थप बजेट विनियोजन गर्ने पनि जानकारी दिनुभयो । उहाँले भाषा दिवसको अवसरमा वैशाख २४ गते भक्तपुसरमा विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।






