विर्तामोड-झापा । नेपाल पत्रकार महासंघ, झापा शाखाले तीन दशकदेखि पत्रकारितामा सक्रिय अग्रज पत्रकार तथा हल्दिबारी डटकमका प्रधानसम्पादक नेत्रविक्रम बिमलीलाई विशेष सम्मान गरेको छ।
महासंघको वार्षिक साधारणसभाको अवसरमा सोमबार विर्तामोडमा आयोजित समारोहमा बिमलीको दीर्घकालीन पत्रकारिता योगदान तथा विशिष्ट मानवीय सेवाको कदर गर्दै ‘सम्मान–पत्र’ प्रदान गरिएको हो।
विगत ३० वर्षभन्दा बढी समयदेखि झापालाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशील बिमलीले ग्रामीण भेगका ओझेलमा परेका मुद्दालाई राष्ट्रिय तहसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।
ग्रामीण प्रेस क्लब, झापा तथा राष्ट्रिय फोटो पत्रकार समूह, झापाका अध्यक्षसमेत रहनुभएका उहाँले सत्य, न्याय र नागरिकको सूचनाको हक सुनिश्चित गर्न निर्भयपूर्वक कलम चलाउँदै आउनुभएको छ। उहाँ हाल नेपाल पत्रकार महासंघ, झापाका सदस्यका रूपमा पनि सक्रिय हुनुहुन्छ।
पत्रकारितासँगै बिमलीको अर्को पाटो उच्चस्तरीय मानवीय सेवा पनि रहेको छ। उहाँले हालसम्म १२१ पटक स्वयंसेवी रक्तदान गरी धेरैको जीवन रक्षा गरिसक्नुभएको छ। नेपाल रेडक्रस सोसाइटी, नेपाल स्वयंसेवी रक्तदाता समाज तथा अन्तर्राष्ट्रिय ब्लड डोनर्स एसोसिएसनजस्ता संस्थामा आबद्ध रही उहाँले पुर्याउनुभएको मानवीय योगदानलाई महासंघले नयाँ पुस्ताका लागि ‘प्रेरणाको स्रोत’का रूपमा उल्लेख गरेको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष दीपक आचार्य र झापा शाखाका अध्यक्ष एकराज गिरीले बिमलीलाई सम्मान–पत्र हस्तान्तरण गर्नुभयो। सम्मान–पत्रमा बिमलीले लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन तथा जनहित प्रवर्द्धनमा पुर्याउनुभएको योगदानको प्रशंसा गरिएको छ।






